अतृप्त सपना

  • 2
    Shares

  • टंक कार्की

मेरो वालमा कहाँबाट कसैको पोष्ट आयो । सुरुका एकाध हरफ पढ्दा मलाई लाग्यो यो कुनै अतृप्त आत्माको नालीबेली हो । अझ पढ्दै गएँ, यो कुनै नेताको घोषणापत्र हो । पढ्दै गएँ झन्  चाख लाग्दो छ । अनि सोचें, मै मात्र किन पढौं, तपाईहरु नै अर्थ्याउनोस् । अरु कसैलाई काम लाग्ला कि ?! यो ठानेर पनि तपाईंहरु माझ बाँढेको छु, जस्ताको तस्तै :

‘मैले हिजो राति सपना देखें । त्यसो त म मंगेरीलाल भने होइन । जव बिउँझें, झसंग भएँ । होइन, कस्तो सपना देख्न पुगे छु ?! कसैको सपना चिप्लेर म कहाँ आएको त होइन ?! फेरि म मफ्फतलाल कहाँ हो र ?! चिन्तनमै भौतिकवादी अनि द्वन्दवादी । मनलाई सम्हालें, ‘भाइ, यसलाई जतन गरेर राख्नु पर्छ । आँखा मिच्दै र कचेरा पुछ्दै म सपना लिपिबद्ध गर्न थालें ।’

‘मेरो पार्टीले संसदीय चुनावमा भारी बहुमत ल्याएर म भर्खरै प्रधानमन्त्री चुनिएको थिएँ । सानो मन्त्रिमण्डल थियो, चुस्त दुरुस्त । उर्जावान पनि थिए पाका पनि । थिए त सबका सब निस्कलंक, निर्दाग । यो लर्तरो बरदान होइन । इतिहासको उपादान । पहिलो क्याबिनेटको बैठक । मैले भनें, हामी थोरै समयलाई यहाँ छौं । तर थोरै गर्ने विलासिता हामीलाई उपलब्ध छैन । हामी धेरै गर्न नसकौंला पनि । म एक दुईटा कुरामा तपाईंहरुको साथ चाहन्छु –

१. हामीले अघि राष्ट्रका सामु जे कसम खा’का छौं त्यसमा तपाईंहरु मलाई निगरानी राख्नोस, म तपाईंहरुलाई । नकारात्मक सूचीमा काम गरेको पाइएमा जो कोही पनि पाता कसिन तैयार हुनु पर्दछ । तपाईं हामीलाई थाहा हुनु पर्दछ, छुनुमुनु गर्दै मेनका विश्वामित्रका अघि आएर ध्यान भंग गरेकी  थिइन् । विश्वामित्रले गरेको गल्ती गर्न हामीलाई छुट छैन । तपाईं हामीलाई सुदुर शास्त्रका पात्र होइन, निकट अतितका इतिहासका मनमोहन र किशुनजीबाट पनि सिक्नलाई धेरै कुरा छन् । यहींनेर हामीले बिनाकरकाप सकारेको कबुललाई ख्याल गर्नेछौं कि हाम्रो न्याय विधानमा कसैप्रति मुलाहिजा हुने छैन । हामी माथिदेखि नै चुहिने नाली टाल्ने छौं ।

२. देश त्यसै बन्दैन । तपाईं हामीहरु यहाँ सुविधा कुम्ल्याउन आएका होइनौं । भन्नलाई हामी सबैले बाहिर दुनियाँदारलाई सेवा गर्ने भनेरै आएका हौँ । हामी समाजका अलिक पुगिसरी भएकै मानिस हौँ । त्यसो भए हामी जति सक्छौं, पेटारी कसेर सुरु गरौँ । गान्धीले धोती लाएर पुर्‍याए, माओले हरियो ज्याकेट । हेर त अहिले पनि सोनिया गान्धी खाडीको साडीमा सार्वजनिक हुन्छिन् । सिङ्गै चीनले ३० औं वर्ष माओको फारुतिनुमा आफूलाई धान्यो । गरिवले पाई पाई जम्मा गरेर पुँजी निर्माण गर्न ध्यान दिनु पर्दछ । हामीले महाराज महारानीको सिको गर्ने होइन ।

३. हामीले अख्तियार गरेको जिम्मेवारी हाम्रो आफ्नो निजी सनक होइन, राष्ट्रको संकल्प हाम्रो विश्वासमा छोडिएको मात्रै हो । त्यसैले सनक होइन, हाम्रा काममा राष्ट्रिय संकल्प, फेरि पनि म दोहोर्‍याउँछु निजी सनक होइन, राष्ट्रिय संकल्प मुखरित हुनु पर्दछ । योजना र नीति बनाउने मूल थलो यहीं हो । अँध्यारो कोठामा हामीलाई बस्नु छैन, एक्ला दुक्लई खासखुस पनि गर्नु छैन ।

४. हाम्रा आफन्तहरु छन् तर यो ठाउँमा हाम्रा आफन्त भनेको गुणवत्ता नै हो । विस्वासका भरमा कोही लाखापाखा हुने छैन, क्षमता अनुसार सबै हकदार हुने छन् । व्यक्तिमा अन्तरनिहित क्षमता र उर्जाको भरपुर सदुपयोग गर्नेछौं । हामी पाका र अशक्तहरुको हेरविचार गर्नेछौं । लालाबालालाई जतनका  साथ हुर्काउनेछौं, सुशिल हुन सिकाउनेछौं र  शिक्षा दीक्षा दिनेछौं । शान्तिका आदर्शमा सिङ्गै समाज विकसित  गर्न कोशिस गर्ने  छौं, त्यसको निम्ति विभेद र असमानता उत्सर्जन गर्ने सामाजिक आधार उखेल्नेछौं । हामीबाट मानवीय मर्यादामा कहीं कतैबाट खोट आउने काम हुने छैन । अनि भने कसैले भन्ने छैन, यो सतिले सरापेको देश हो ।

५. हाम्रा सिद्धान्त, नीति र कार्यक्रममा राजषी घरानाको श्रीवृद्धिमा होइन, झुपडीको  पुकार सम्बोधन गर्नमा निर्देशित हुनेछन् । उनको खुसबहाली र समृद्धि नै हाम्रो सपना विपना हो । छुट्टै अरु कुनै होइन । हामीलाई थाहा छ, कसौंडीमा यथेष्ट चामल नहाले अघाउँजी खान पाइदैन । फेरि, परिपन्चिसले बाढ्न पनि चुक्नु हुन्न ।

६. हामी हाम्रो स्वाभिमान र हितप्रति सदा संवेदनशील हुनु पर्दछ । त्यसो गरी रहँदा हामीले हाम्रो औकात र हैसियत पनि बिर्सनु हुँदैन । छुच्चो पनि बन्नु हुँदैन । तित्राको मुखै बैरी पनि हामीले गर्नु हुँदैन । हिनातावोधी पनि हुनु जरुरी छैन । आत्मसम्मान हुनेलाई मात्र अरुले पनि सम्मान गर्दछन् । हामी हुँदै न भएका होइनौं, हामीसंग  पारस्परिक लाभमा मिलेर काम गर्ने थुप्रै क्षेत्रहरु छन् र योगदान पनि गरेका छौं ।

६. हामी सामाजिक र भौगोलिक विविधता भएका समाज हौँ, हाम्रो मिलिजुली बसोबास छ  । हामीले भर्ने कार्चोपिमा ती रंग भर्न र हामीले उन्ने मालामा ती फूल उन्न कुनै कसरत बाँकी राख्ने छैनौं । बीपीले प्रजातन्त्र स्थापना भए आफू होइन, परशुनारायण चौधरी प्रधानमन्त्री बनाउने घोषणा गरेको मैले सम्झेको छु । आगामी २५ वर्षभित्र चेपाङ्ग, राउटे, मुसहर जस्ता जातिका मानिस पनि यो क्याबिनेटका उत्तिकै सक्षम सदस्य हुने गरी योजनाका साथ हामी काम गर्ने छौं ।

७. हामी उन्मादी हुने छैनौं । विपक्षमा साथीहरु छन् । हामी उनीहरुलाई भ्याकुरा खेदेझैं खेद्ने छैनौं । रचनात्मक सहयोगको निम्ति हामी उनीहरुलाई प्रोत्साहित गर्ने छौं ।

८. यस गुरुत्तर दायित्वको भवितव्य हाम्रै पाखुरामा छ र हाम्रो एकतामा छ । वीपीले सुवर्णको साथ लिए, राजनीतिबाट सन्यास लिएका सुर्यप्रसादलाई घिसार्दै गृहमन्त्री बनाए । जाँदा जाँदै पार्टी कुनै एउटा व्यक्तिलाई, आफ्नै भाइलाई मात्र नभएर सामुहिक नेतृत्वमा छोडेर गए । हाम्रा वरिपरिको निकट अतितको यो इतिहासलाई  हामी पूराका पुरा हेक्का राख्ने छौं ।’

‘हामी आफ्नो कार्यकाल  सकिएर कुर्सीबाट निस्किदै गर्दा चौकीदारले आएर हामीलाई, ‘तपाईहरुले जे जति सक्नु भो राम्रो गर्नु भो !’ भनेर भनेछ भने अनि मात्र हामीले ठाने हुन्छ, हामीले इतिहासले हामीलाई सुम्पेको दायित्वको अनादर होइन, सम्मान नै गरेछौं ।’

‘अन्त्यमा, हामी न बिर्सौं, हामी त्यस्ता नाविक हौँ, हाम्रो थोरै मात्र लापार्वाहीमा, हाम्रो अलिकति मात्र वेहोसीमा हाम्रो सिङ्गै जहाज डुब्ने छ । हामी त डुब्ने छौं, अरुलाई पनि डुबाउने छौं । हामी बीच महासागरमा छौं ।’

जसै पढिसकें, एकछिन घोत्लिएँ, कत्रो अठोट ?! कसका होलान्, यी अतृप्त सपना ?! जोसुकैका हुन्, यी युटोपिया होइनन्, फुटानी त झन् हुँदै होइनन् । इमान र संकल्प भए दुसाध्य होइनन् पनि ।

  • राताेपाटी अनलाइनबाट साभार


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्