भन पुरुष, कहिलेसम्म?

  • 2
    Shares

प्रमिला रिमाल

उस्तै काख उस्तै कोख अनि उस्तै आँचलमा
उस्तै प्रकृतिले जन्मिएका हैनौँ र हामी?
बनावटमा थोरै फरक छौं हामी
हो, बनावटमा थोरै फरक छौं हामी
र त समाजले तिमीलाई पुरुष र मलाई नारी भनिदियो।

तिमीप्रतिको मेरो सद्भाव आस्था कहिले मैलिएको छैन
तर तिमीले मलाई किन फरक नजरले हेर्छौ?
मेरो छालाको रङ, अनुहारको चम्काइ,
छातीको उचाइ, कम्मरको लच्काइ र
शरीरको मोटाइलाई मात्र हेरेर,
तिम्रा कुटिल अँखाहरुले किन नग्न हत्या गर्छन् मलाई?

के ममात्र तिम्रो लागि भोक मेट्ने मासुको एउटा डल्लो हुँ त?
तिम्रो सोचमा म मात्र एउटा खेलौना हुँ?
त्यो डल्लोमा तिम्रो जस्तै दुख्ने एउटा मन छ
के तिमी त्यसलाई महशुस गर्दैनौ र?
तिम्रो जस्तै एउटा भावना छ मेरो पनि
के यो कहिले देख्दैनौ र?
के तिमीमा यति सात्त्विकता पनि छैन र!
क्षणभरको आवेगले आफूलाई पशु हुनबाट रोक्न सकियोस्!

भन पुरुष, के तिमीले मेरो अस्तित्वलाई नकारेकै हो त?
मेरो बनावटमा यति आक्रोश किन तिमीलाई?
वेद पुराण महाभारत कुरानमा र बाइबलमा पनि त
मेरो अस्तित्व स्वीकारिएको छ नि!
तिम्रो अस्तित्व र स्वतन्त्रतामा मैले कहिले दाग लगाइनँ
तर तिमी घरी घरी किन मलाई मात्र जलाउछौ?

के सधैं यसरी नै लुछी रहन्छौ मलाई?
तिमीप्रतिको मेरो आस्था र सहनशीलतालाई
यसरी नै मारिरहन्छौ?
तिमीले यो कहिले बुज्छौ
तिमी र मबिना दुवै रहन्नौ भनेर?
म प्रकृति हुँ जहाँ तिमी अपरिहार्य छौँ
तर भन पुरुष कहिलेसम्म
म सुरक्षित हुन सक्दिनँ तिमीबाट?
हो, भन पुरुष
कहिलेसम्म म सुरक्षित हुन सक्दिनँ तिमीबाट?

साभार – सेताेपाटी अनलाइन


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्