मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस

  • 3
    Shares

विराटनगर । प्रदेश १ काे प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ। ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा सभामुखले अनुमति दिएपछि अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेस गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ। नेकपाको प्रचण्ड–नेपाल पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई साथ दिएको, पार्टी विरोधी गतिविधि गरेको लगायतका आरोप लगाउँदै गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध ३७ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेको थियो। जसमध्ये ४ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्।

प्रचण्ड–नेपाल समूहले भने केही सांसद  हस्ताक्षरका बेला छुटेको भन्दै आफूहरु बहुमतमा रहेको दावी गर्दै आएको छ। आइतबार प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गर्दै सांसद आङ्बोले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई हेर्ने दृष्टिकोणमा फरक रहेको र मुख्यमन्त्रीले प्रधानमन्त्रीको कदमलाई अग्रगामी भनेका कारण आफूहरुले अविश्वासको प्रस्ताव पेस गरेको बताए।

प्रदेश सभाको अर्को बैठक फागुन २० गते बिहीबार दिनको १ बजेसम्मका लागि बोलाइएको छ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्