नेकपा भोजपुरको अध्यक्षमा शरण कुमार राई चयन

  • 3
    Shares

भोजपुर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भोजपुरको अध्यक्षमा शरण कुमार राई चयन भएका छन् । सोमबार प्रचण्ड नेपाल पक्षको नेकपाले टुंगाएको ६८ जिल्लाको नेतृत्व अन्र्तगत भोजपुरको अध्यक्षमा राईलाई चुनेको हो ।
नेकपा प्रचण्ड नेपाल समुहको पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबन्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएसंगै नेकपा भोजपुरको नेतृत्व पनि टुंगो लागेको थियो । यस्तै नेकपा भोजपुरको सचिवमा चयन भएका विमल खड्काले भने जिम्मेवारी अस्विकार गरेका छन् । उनी पार्टी एकीकरणपछि साबिक माओवादीबाट सचिव थिए ।
अध्यक्षमा चुनिएपछि राईले मंगलबार पदभार ग्रहण गरेका छन् । पार्टीका विभिन्न तहबाट नेतृत्व गरिरहेका नेता तथा प्रमुख प्रतिनिधीहरुका विच पदभार ग्रहण गर्दै अध्यक्ष राईले पार्टीलाई व्यवस्थित गरेर लैजानुपर्ने जिकिर गरे । नयाँ नेतृत्वपछि जिल्ला कमिटीमा बाँकी रहेका पदपूर्ती गर्ने, तत्काल व्यापक जिल्ला भेलाका साथ सम्पूर्ण जनवर्गिय संगठनलाई सपथ ग्रहण गर्ने र ८१ वटै वडा स्थानीय कमिटी भेला राख्ने अध्यक्ष राईले प्रतिबद्धता गरे ।
पदभार ग्रहणका क्रममा बोल्दै नेकपा प्रदेश कमिटीका सदस्य राजेश खतिवडाले जिल्लाले नयाँ युवा नेतृत्व पाएकोमा उर्जा थपिएको टिप्पणी राखे । राई नेतृत्वको नेकपाले पार्टीलाई स्फूर्त ढंगबाट कार्यकाललाई उपलब्धीमूलक ढंगबाट अगाडी लैजान समेत निर्देश गरे ।
यस्तै नेकपा प्रदेश कमिटीका अर्का सदस्य रमेश शाक्यले पनि राई नेतृत्वको नेकपाबाट धेरै आशा थपिएको बताए । तात्कालिन नेकपा जिल्ला कमिटी नेतृत्वको कमिकमजोरी हटाउँदै जिल्लाको राजनीतिक धरातललाई नयाँ आयाम दिनेमा आफु विश्वस्त रहेको जिकिर गरे ।

को हुन् त शरण कुमार राई ?
प्रचण्ड नेपालको नेकपा भोजपुरको नेतृत्व पाएका शरण कुमार राई एक कुशल युवा कम्युनिष्ट नेता हुन् । तात्कालिन नेकपा एमाले हुँदै नेकपाको नेतृत्व गर्दै आएका राई एक अगम्य साहसिक युवा नेताभित्र गनिन्छन् । पार्टीको सांगठनिक जिम्मेवारीमा शसक्त भुमिका उभिने युवापुस्ताको प्रतिनिधी पात्र हुन् । वि.स. २०४९ सालमा अन्नपूर्ण माविको अनेरास्ववियूको प्रारम्भिक कमिटीको सचिवबाट राजनीतिक यात्रा सुरु गरेका राई अखिलका दम्बवान युवा नेता हुन् ।
युवा नेतृत्वमा सधैँ अगाडी राई वि.सं. २०५४ सालदेखि लगातार ३ पटक अनेरास्ववियूको जिल्ला अध्यक्ष बने । यस्तै वि.सं. २०५७ सालदेखि वि.सं. २०६१ सालसम्म २ कार्यकाल अखिलको केन्द्रिय कमिटी सदस्य रहे । यस्तै राई वि.सं. २०६७ सालदेखि पार्टीको जिल्ला उपसचिव बने । त्यस्तै वि.सं. २०७० सालमा एमालेको सातौँ जिल्ला अधिवेशनबाट राई पार्टी जिल्ला सचिवमा पदोन्नती भए । पछि तात्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरणपछि राईले नेकपाको जिल्ला कार्यालय सदस्य एवम् संगठन विभाग प्रमुखको पदको जिम्मेवारी सम्हाले ।
ग्रामीण विकासमा स्नातकोत्तर गरेका राई राजनीतिक हिसाबले जिल्लाको सबैभन्दा सक्रिय कार्यकर्ताभित्र पर्छन् । चोटिला वक्तव्यका सुत्राधार, उर्जाशिल जोसजाँगर, शालिन विचारधारा र मिलनसार स्वाभावका राई वर्तमान राजनीतिक विश्लेषक पनि हुन् ।


  • 3
    Shares
प्रतिक्रिया दिनुहोस्