सर्वोच्चको बदर फैसलाको स्वागत गर्दै नेकपा भोजपुरको प्रेस विज्ञप्ती जारी

  • 2
    Shares


भोजपुर । प्रतिनिधी सभा विघटनको मुद्दालाई सर्वाेच्च अदालतले गरेको बदर फैसलाको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुरले प्रेस विज्ञप्ती जारी गरेको छ । गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कार्यान्वयन गरिएको प्रतिनिधी सभा विघटन विरुद्धको मुद्दामा सर्वोच्च अदालतले मंगलबार गरेको बदर फैसलालाई स्वागत गर्दै नेकपा भोजपुरले विज्ञप्ती निकालेको हो ।

जनताको न्यायलाई मर्न नदिई सर्वोच्चको बहुप्रतिक्षित न्यायिक फैसलाले प्रधानमन्त्री ओलीको सिफारिस असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदम भएको प्रमाणित भएको भन्दै संविधानमाथिको सांघातिक राजनीतिक आक्रमणको क्रममा पूर्णविराम लागेको विज्ञप्तीमा उल्लेख छ ।

नेकपा भोजपुरका अध्यक्ष शरण कुमार राईका अनुसार नेकपा भोजपुरले संसद विघटन जस्तो प्रतिगामी कदम निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई उच्च नैतिकताका आधारमा सिघ्र राजिनामाको जोडदार माग गरेको बताए । उनले भने, ‘वास्तवमा नेपाली जनताको विजय भयो, ओलीको ‘कु’ लाई परास्त गरेर अन्ततः फैसलाले सबैलाई न्याय दियो’ ।

विघटनको विरुद्धमा वकालत गर्ने अधिवक्ता, प्रतिनिधी सभा पुनः स्थापनका लागि अहोरात्र खट्ने पत्रकार, मिडियाकर्मी, राजनीतिक दलहरु, नागरिक समाज, नेपाली नागरिकलाई नेकपा भोजपुरले कृतज्ञता व्यक्त गरेको छ ।



नेपाली कांग्रेसको पनि प्रेस विज्ञप्ती जारी

यस्तै नेपाली कांग्रेस भोजपुरले पनि सर्वोच्चको फैसला जनताको हितमा भएको भन्दै स्वागत गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेस भोजपुरले संविधानका रक्षार्थ सर्वोच्चको फैसला न्यायपूर्ण र कानून सम्मत भएको जनाएको छ । जिल्ला सभापति नन्दमणि राईले सवोच्चको फैसलाले कानूनमाथि जनताको विश्वास मर्न नदिएको बताए ।


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्