नेपाली कांग्रेसकाे निष्कर्ष : सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था आएकाे छैन

  • 6
    Shares

काठमाडाै । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसले सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था नआएको बताएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपाको अवको अवस्था हेरेर अगाडि बढ्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए।

उनले नेकपाको अबको यात्रा, संसद् बैठकपछिको परिस्थिति आदि हेरेर मात्रै कांग्रेसले निर्णय लिने बताए। उनले अहिलेनै सत्ता समीकरणका बारेमा छलफल गर्न हतार हुनेमा सबै पदाधिकारिको एक मत रहेको बताए।

बैठकको सुरुमै सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेससँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए। पदाधिकारीहरुले देउवालाई पार्टीको लाइन के हो भन्ने प्रस्ट बनाउन आग्रह गर्दै ओलीसँग सहकार्यको नजिक पुगेको भन्दै आशंका व्यक्त गरेका थिए।

जवाफमा देउवाले आफूले कुनै पनि समूहलाई बचन दिइनसकेको र नेकपा वैधानिक रुपमा बिभाजन नभएसम्म सहकार्य हुन नसक्ने बताएको जानकारी गराए। ‘मैले कुनै पनि समूहलाई औपचारिक जवाफ दिएको छैन’, देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘नेकपा विभाजन नभएसम्म सहकार्य हुँदैन।’

सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्ने निर्णय भएसँगै नेकपाका दुवै समूहले कांग्रेससँग सत्ता साझेदारीका छलफल अगाडि बढाएका छन्। बुधबार नै प्रचण्ड–नेपाल समूहले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेका थिए।


  • 6
    Shares
प्रतिक्रिया दिनुहोस्