गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिक पक्राउ

  • 7
    Shares

क्वालालम्पुर / गैरकानुनी रुपमा बसेका नेपालीसहित २ सय ५ आप्रवासी श्रमिकलाई मलेसियाको अध्यागमन बिभागले पक्राउ गरेको छ । अध्यागमनले त्यहाँको पुडु अपार्टमेन्टमा छापा मारेपछि उनीहरु पक्राउ परेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा नेपाल, बंगलादेश र इन्डोनेसियाका नागरिक छन् । पक्राउ परेकाहरुसँग वैध कागजात, पास वा अनुमतिपत्र केही नभएको विभागलाई उदृत गर्दै मलेसियाबाट प्रकाशन हुने द स्टार पत्रिकाले जनाएको छ ।

पक्राउ गरिएका केही व्यक्तिहरू २०१६ देखि गैरकानुनी तरिकाले त्यहाँ रहेको बताइएको छ । पक्राउ गरिएकाहरु २० देखि ४० वर्ष बीचका रहेको विभागले जनाएको छ । क्वालालम्पुर अध्यागमन निर्देशक हमीदी आदमका अनुसार जनताबाट गुनासो आएपछि विभागले उक्त अपार्टमेन्टमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।

उनीहरुलाई थप अनुसन्धानका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा पठाईएको निर्देशक हमीदीले बताए । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।

मलेसियाले गैरकानुनी रुपमा बसेका नेपालीसहित आप्रवासी कामदारलाई गत डिसेम्बरदेखि नै स्वदेश फर्किने मौका प्रधान गरेको छ । मलेसिया सरकारले त्यहाँ रहेका गैरकानुनी कामदारहरुको व्यवस्थापनको लागि रिक्यालीब्रेसन कार्यक्रम घोषणा गरेर गैरकानुनी तरिकाले बसेकालाई स्वदेश फर्काईरहेको छ ।


  • 7
    Shares
प्रतिक्रिया दिनुहोस्