नेटो सेनालाई तालिवानको गम्भीर चेतावनी

  • 1
    Share

एजेन्सी । अफगानिस्तानमा युद्धरत विद्रोही तालिबानले तोकिएको समयसिमा भित्र अमेरिकी नेतृत्वको नेटो सेनाले आफ्नो मुलुक नछोडे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिबद्धता अनुसार अमेरिकी तथा नेटो सेनाले यही सेप्टेम्बर ११ तारिख सम्म अफगानिस्तान छाड्ने छ । तर कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकीसहित एक हजार विदेशी सेना तैनाथ हुन सक्ने समाचार बाहिरिएपछि तालिबानको पछिल्लो चेतावनी आएको हो । तालिबानले तोकिएको समयसीमा पछि अफगानिस्तानमा रहने विदेशी सैनिक जोखिममा पर्ने चेतावनी दिएको छ ।

नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ। तर तालिबानले थप क्षेत्रमा नियन्त्रण कायम गरेसँगै हिंसा बढ्ने अनुमान गरिएको छ भने  अफगानी सुरक्षा निकायले एक्लै देशको सुरक्षाको जिम्मा लिने तयारी  गर्दै गर्दा काबुलको भविष्यबारे चिन्ता व्यक्त भइरहेको छ । अमेरिकामा आतंकवादी आक्रमण भएलगत्तै सन् २ हजार १को अक्टोबरमा अमेरिकी नेतृत्वको नेटो सेनाले अफगानिस्तानमा आक्रमण गरेपछि तालिबानी सरकार अपदस्थ भएको थियो ।

आतंकवादी आक्रमणका मुख्य योजनाकार मानिने अलकायदाका प्रमूख ओसामा विन लादेन र अन्य नेतालाई आश्रय दिएको भन्दै अमेरिकाले अफगानिस्तानमा आक्रमण आरम्भ गरेको हो । करिब २० वर्ष लामो युद्धका क्रममा अमेरिका र अफगानिस्तानले  मानवीय, भौतिक र आर्थिक क्षति व्योहोर्नुपरेको छ ।।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्