नेपाली कांग्रेस पुनः इतिहासमा राष्ट्रघात र प्रतिगमनको मतियार बन्न खोज्दै छ : सुदन किराँती।।


काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धनमा यतिबेला अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयले असहज परिस्थिति सिर्जना गराएको छ ।

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनको बैठकमा एमसिसि पारित गर्न दलहरुलाई दिएको दवाव र एमसिसिको पक्षमा नउभिए गठबन्धन नै तोड्ने भनी दिएको अभिव्यक्तिले देउवाको चौतर्फी आलोचना भइरहेको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापतिसमेत रहेका देउवाले एमसीसीको पक्षमा लाग्न दवाब बढाइरहँदा नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा कुनै हालतमा पनि एमसीसी पास गर्न नसकिने बताइरहेको छ ।

यिनै समसामयिक राजनीतिक परिघटना र आगामी रणनीतिका विषयमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं संघीय सांसद सुदन किराँतीसँग गरिएको कुराकानीको केही सम्वादीत अंशः 

नेकपा माओवादी केन्द्रसहितको पाँच दलीय गठबन्धनको सरकार छ । गठबन्धनमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्नका लागि दवाब बढाएका छन् । यसमा तपाईको पार्टीको धारणा के हो ? 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्नका लागि गठबन्धनमाथि गरेको दवाब मात्रै होला जस्तो मलाई लाग्छ । गठबन्धन भत्काउने गरी चाँहि होइन कि जस्तो लाग्छ । तर पनि कांग्रेस वृत्तभित्रबाट केही समयदेखि गठबन्धनमा अब रहिने छैन, गठबन्धन अहिलेको आवश्यकता होइन अब हामी एक्लै चुनाव फेस गर्छौं भने आवाज आइरहेको छ ।

यी दुवै पक्षलाई जोडेर हेर्दा चाँहि कांग्रेस फेरी प्रतिगमनकारीको मतियार त बन्दै छैन भन्ने आशंका भएको छ । इतिहासको हरेक मोडमा कांग्रेस जानेर वा नजानेर प्रतिगमनको मतियार भएको छ । २००७ सालमा प्रजातन्त्रा आयो । २०१५ सालमा भएको आम निर्वाचनमा कांग्रेसलाई दुईतिहाई बहुमत थियो । कांग्रेसमा भएको दुईतिहाई बहुमतको सरकार राम्रोसँग चलाउन नसक्दा राजाले २०१७ साल पुष १ गते ‘कु’ गरे तर एकैजना मान्छे पनि प्रतिरोधका निम्ति सडकमा निस्किएन । त्यसपछि २०४६ सालको प्रजातन्त्र पछाडि ४७ सालको आम निर्वाचनमा पनि कांग्रेसलाई नेपाली जनताले एकमाने सरकार दिएको हो । फेरिपनि त्यो एकमाने सरकार ३६ महिना नपुग्दै ढालेर अस्थिरताको विजारोपन कांग्रेसले नै गरेको हो ।

अहिले पनि ओली सरकारबाट संविधानलाई मिच्ने, राष्ट्रियतामाथि ग्रहण लगाउने र अहिलेको व्यवस्थालाई नै धरापमा पार्ने जुन खेल भए त्यसका विरुद्घमा देउवाको नेतृत्वमा ५ दलीय गठबन्धन बनेको हो । ओलीको भरेको बन्दुक नपाड्केको  र देउवाको चाँहि नभरेको बन्दुक पड्किएर शिकार मरेको हो । यो अवसरलाई देश र जनताको हितमा लगाउनु पर्ने ऐतिहासिक महत्वको घडिमा कांग्रेस वृत्तबाट जे कुरा हामीले सुनिरहेका छौं यो निकै गम्भिर छ । फेरि इतिहासको कालखण्डमा कांग्रेस प्रतिगमनको मतियार बन्छ कि भन्ने मलाई आशंका छ । 

के प्रतिगमन अहिले नै समाप्त भइसकेको हो त ? यो कुरा पाँच दलीय गठबन्धनभित्र स्पष्ट हुनुपर्छ । अब हाम्रो देशको व्यवस्था र संविधानमाथि प्रतिगमनको कुनै छाँया छैन ? यदि त्यसो भएको छैन भने सत्तारुढ गठबन्धनले पुनः एकपटक समिक्षा गर्ने बेला आएको छ । स्मरण रहोस् यो गठबन्धन भनेको घाम जुन रहुन्जेल होइन । 


एमसीसीको मुद्दा ल्याएर प्रधानमन्त्री देउवा जीले सत्तारुढ गठबन्धनमा दवाब दिइरहेका छन् । देउवामा पनि ओली प्रवृत्ति दोहोरियो भन्ने तपाईको धारणा हो ? 

हिजो ओली पनि एमसीसी ल्याउनका निम्ति कम्मर कसेर लागेका हुन् । मुख्य हाम्रो पार्टीभित्रको मुद्दा यो पनि थियो । यसले पनि अन्तर संघर्षमा मलजल त पुर्‍याएकै छ । आज देउवालाई आतुर छ कि ‘मलाई प्रेसर छ, एमसीसी पास नगरी हुँदैन’ भनेर उहाँले गठबन्धनको बैठकमा भन्नु भएको छ रे । अब उहाँले एमसीसीसँग सम्बिन्धित दात्रृ राष्ट्रको कति नुन खानु भएको छ भन्ने प्रश्न उठेको छ । नत्र कसरी प्रेसर भयो त ?

आफ्नो सार्वभौम सत्तामाथि नै आँच आउने प्रकारको सम्झौता कसरी अहिलेको अहिलै लागू गनुर्् पर्छ भन्न उहाँलाई के को प्रेसर छ ? वैदेशिक सहयोग चाहिन्छ त्यो थाहा छ । अमेरिकाले पनि सन् १९४९ देखि नै हामीलाई सहयोग गर्दै आएको हो । तर अरु माध्यम छाडेर एमसीसीको माध्यमबाट नै उ किन आयो र सार्वभौम सत्तामाथि नै आँच आउने प्रावधान राखेर हाम्रो कानुन भन्दामाथि जान किन चाह्यो ? एमसीसीका कतिपय सम्झौताहरु नेपाल र नेपाली रहुन्जेलसम्म रहिरहने खाल्का प्रावधान रहेको छ । यस्तो प्रकारको राष्ट्रघाति सम्झौता गर्न किन आत्तुर छन् प्रधानमन्त्री ? यसको त जवाफ दिनु पर्‍यो नि ।

त्यसकारणले प्रधानमन्त्री देउवालाई जुन अवस्थामा यो राष्ट्रको जिम्मेवारी काँधमा आयो त्यसलाई सही ढंगले सञ्चालन गर्न नसकेको हो ।

नेपालको राष्ट्रियता, स्वाधीनता र सार्वभौमिकता माथि प्रश्न उठ्ने एमसीसी चाहिँदैन । स्वाभिमान बेचेर ल्याएको समृद्घि चाहिँदैन भनी जनताहरुले भन्दा पनि यो एमसीसी पास गर्नै पर्छ भन्ने केही बाध्यत्मक परिस्थिति हो र ? 

नेकपा माओवादी केन्द्र एमसीसीको पक्षमा छैन । हाम्रो अध्यक्षले पनि स्पष्ट भनिसक्नु भएको छ । संशोधन बिना यो पारित हुन सक्दैन । एकीकृत समाजवादीका अध्यक्ष पनि यथास्थितिमा एमसीसी पारित गर्न सकिँदैन भन्ने पक्षमै हुनुहुन्छ । साथै हामीलाई सम्पूर्ण नेपालीको साथ त छँदैछ । संसारमा शक्तिशाली हतियार कुनै मिसाइल होइन रहेछ । सबैभन्दा शक्तिशाली हतियार त नुन रहेछ । एमसीसी पास गर्ने हुटहुटी जसले जसको नुन खाएको छ । नुनप्रतिको बफादारिता भनौं नुनको सोझो हो भन्ने मलाई लागेको छ । 

यसको मतलब एमसीसीको पक्षमा रहेका नेताहरुको दातृ राष्ट्रसँग गोप्य साँठगाँठ छ भन्ने हो ? 

एमसीसीमार्फत जसले सहयोग गर्न खोजिरहेको छ त्यो प्रतिको आकर्षण हाम्रा नेतालाई किन ? एमसीसीप्रति उत्कट इच्छा के का लागि ? राष्ट्रभन्दा माथि केही पनि हुँदैन । राष्ट्रलाई कुल्चिएर, नागरिकको स्वाभिमानलाई कुल्चिएर जुन सम्झौत गर्न खोजिदै छ यो चाहिँ धेरै ठूलो राष्ट्रघात हो । 

एमसीसीका विरुद्घमा माओवादी केन्द्र गठबन्धन तोड्न तयार छ ?  राष्ट्रभन्दामाथि अरु केही हुन सक्दैन । आवश्यक पर्दाखेरी जीवन त्याग्न तयार हामी हुनु पर्छ । एमसीसीलाई यथास्थितिमा र राष्ट्रको सार्वभौमिक अखण्डतामाथिको हित विपरित सम्झौत हुन सक्दैन । पद सरकार भनेको केही पनि होइन । सबैभन्दामाथि राष्ट्र हुन्छ । यो राष्ट्र बाँच्यो भने नै त्यहाँ जनता हुन्छन् । त्यहाँ दलहरु हुन्छन् । राजनीतिमार्फत पुनः सरकारमा आउँछन् । त्यसैले पहिलो कुरा त सरकारभन्दा पनि देशको सार्वभौमिकता, स्वतन्त्रता र स्वाधीनता हो नि । 

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएको छ । प्रचण्ड पुनः अध्यक्षमा दोहोरिएका छन् । अन्य पदाधिकारीको पूर्णता चाहिँ कहिले ? बढ्दो कोभिड एकतिर र अर्कातिर पार्टीका प्रभावशाली नेता आफ्नो स्वास्थ्य उपचारका निम्ति चाइनामा हुनु हुन्थ्यो । अधिवेशनमा अध्यक्ष लगायत केन्द्रीय कमिटी घोषणा भएपछि उहाँले ‘पदाधिकारीको निर्वाचनमा चाहिँ मलाई पनि सहभागी गराउन भूमिका निर्वाह गरिदिनु पर्‍यो’ भनेर अध्यक्ष समक्ष उहाँले आफ्नो कु्रा राख्नु भयो । जीवन नै अन्तिम अन्तिम चरणमा पुर्‍याएर फेरि फर्किएको एकजना प्रभावशाली नेताले त्यसो भन्दाखेरी अलिकति पर सरेको हो । अब आगामी माघ २७ मा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । कोरोना संक्रमणले असर पुर्‍याएन भने अब चाँडै पदाधिकारीको पूर्णता पाउँछ ।


प्रतिक्रिया दिनुहोस्