मध्य चिसोको बेला संक्रमण पिकमा पुग्ने खतरा छ


डा. अनुप बास्तोला

काठमाडौं धेरै ठाउँमा क्लस्टरमा कोरोना संक्रमण देखिएको छ। सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतलाई संक्रमण देखिएको छ। लकडाउन खुकुलो गरेपछि काठमाडौं भित्रिएका सानातिना व्यवसाय गर्ने मानिसहरु बढी चपेटामा परेको देखिन्छ।

तर, कोरोना अहिले नै अनियन्त्रित भइसकेको छैन। नत्र हामीले धान्नै नसक्ने अवस्था हुन्थ्यो। धेरै क्लस्टरमा संक्रमण देखिएपनि यसलाई अहिलेसम्म हामी रोकथाम गर्नसक्ने अवस्थामै छौं। रोकथाम र नियन्त्रणको रणनीति बन्नुपर्छ।

अहिले निषेधाज्ञा गरेपछि मानिसको चहलपहल घट्यो। ट्रान्समिसनको चेनब्रेक गर्न हामी सफल भएका छौं। अब एउटै परिवारमा बसेका व्यक्तिहरुमा संक्रमण देखिन सक्छ। निषेधाज्ञाको समय अझै बढ्यो भने पहिचान गर्न सहज हुन्थ्यो। किनकि कतिमा लक्षण नै देखिएको छैन, ती पनि घरमै बसेर निको हुन्थे, बाहिर गएर सार्ने सम्भावना कम हुन्थ्यो। निषेधाज्ञालाई केही समय बढाए अहिले बढ्दो क्रममा रहेको संक्रमणलाई केही समयलाई रोकथाम गर्न सकिन्छ।

लकडाउनमा सरकारको रणनीति सफल भएको थियो। रोगग्रस्त क्षेत्रबाट आएका हजारौँ व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टिनमा राखेर पठाउँदा संक्रमण रोकथाम भएको थियो।

क्वारेन्टिन व्यवस्थापनको पक्ष कमजोर रह्यो। तर, संक्रमणलाई रोक्न लकडाउन प्रभावकारी भयो। लकडाउन खुल्नेबित्तिकै रोगग्रस्त देशबाट मानिसहरुको एकैपटक प्रवेश भयो, आउन त लकडाउनमा पनि मानिसहरु लुकिछिपी नेपाल प्रवेश गरेका थिए। तिनले भाइरस सारे र थाहा नपाएरै संक्रमण फैलन थाल्यो, सिकिस्त बिरामी थपिए। अहिले तराईका केही जिल्ला भयावह अवस्था झेल्दैछ।

काठमाडौँमा हामी सुरुवाती चरण पार गर्न खोज्दै थियौं लकडाउन खुल्यो, त्यो पनि व्यवस्थापन बलियो नबनाई। अनि काम गर्न घरबाहिर निस्किने युवा पुस्ता संक्रमणमा पर्‍यो। रोगग्रस्त क्षेत्रबाट उपचारका लागि आएका व्यक्तिहरुबाट अस्पताल, विभिन्न कार्यालयका सेवाग्राही, केही हदसम्म चिकित्सक संक्रमित भए। व्यापार व्यवसाय गर्ने, उद्योग चलाउने, अफिस जाने, ग्यारेज चलाउने काम भयो। त्यहाँ काम गर्ने केहीबाट अन्य व्यक्ति संक्रमणमा परे।

अनि राजधानीमा सुरुमै यस्ता व्यक्ति भेटिए, जो दीर्घरोगी र अन्य रोगबाट पीडित थिए। उनीहरु सीधै संक्रमितको सम्पर्कमा आए। रिभर्स क्वारेन्टिन गर्न सकेनन्, उनीहरुको पसल थियो होला, काममा जानुपर्‍यो होला। ती व्यक्ति सिकिस्त भए।

काठमाडौंमा संक्रमण कहिले पिकमा जान्छ, यसै भन्न सकिदैँन। किनभने परीक्षण कति भएको छ? आगामी दिनको रणनीति के हुन्छ? अहिले देखिएका क्लस्टरमा संक्रमणको फैलने दर कस्तो छ? यी विषय अध्ययनपछि मात्र निष्कर्ष निकाल्न सकिन्छ। अब हाम्रोमा बिस्तारै चिसो सुरु हुँदैछ। मध्य चिसोको बेला संक्रमण पिकमा पुग्ने खतरा पनि छ।

त्यसैले अहिलेको निषेधाज्ञाले रोकथाम गरेको मात्र हो, चेन ब्रेक गरेको मात्र हो। तर एकहप्ताको निषेधाज्ञाले मात्रै पुग्दैन। यहीबेलामा संक्रमितहरुको पहिचान, लक्षण देखिएका व्यक्तिहरुको जाँच पड्ताल, उनीहरुलाई आइसोलेसन र उपचार गरेर हामीले चेनब्रेक गर्न सक्यौं भने नियन्त्रणउन्मुख हुन्छ।

नत्र एक हप्तामा निषेधाज्ञा हटायौँ भने स्थिति भयावह हुन्छ। त्यसपछि त सुरुवाती चरणमा जस्तै भारत तथा प्रभावित जिल्लाबाट आएकाहरुलाई क्वारेन्टिन र आइसोलेसनमा राख्ने रणनीति लिनुपर्ने हुनसक्छ।

कन्ट्याक्ट ट्रेसिङको कुरा गर्दा तराई र काठमाडौँमा एउटै हुँदैन। तराईका जिल्लाहरुमा संक्रमण व्यवस्थापन भइसकेपछि कन्ट्याक्ट ट्रेसिङ भन्दापनि उपचारतिर जानुपर्छ। लक्षण देखिएका व्यक्तिहरुलाई जाँच गरेर उपचार गर्ने। काठमाडौैं उपत्यकामा अझैपनि संक्रमण समुदायमा जान नदिन तीव्र कन्ट्याक्ट ट्रेसिङ गरेर आइसोलेट गर्नुपर्छ। उपत्यकामा संक्रमित त धेरै छन्, तर, लक्षण भएका धेरै छैनन्। उपचारको मोडलमा जाने हो भने कन्ट्याक्ट ट्रेसिङको मतलब भएन नत्र यसलाई चुस्त र छिटो गरिनुपर्छ।

समुदायमा भाइरस नगएका पहाडी जिल्लाहरुमा क्लस्टर पहिचान गरेर त्यसलाई रोकथाम गर्न पनि कन्ट्याक्ट ट्रेसिङ हुनुपर्‍यो।

तर, यसलाई त्यत्तिकै छोड्दिने हो अहिले जसरी लक्षण नभएका पोजिटिभ केसलाई होम आइसोलेसनमा बस्न भनेका छौं, त्यसबेला बिरामी भएकालाई पनि उसैगरी घर बस, गम्भीर भएपछि मात्र अस्पतालमा राखौँला भन्नुपर्ने अवस्था आउनसक्छ।

महामारी कहिलेसम्म जान्छ भन्ने अझै अन्योल छ। हाम्रोमा बल्ल पहिलो लहर आइरहेको छ। अहिले नै नियन्त्रण गरेनौँ भने आगामी जाडो याममा यसले झनै ठूलो चुनौती दिने खतरा छ। जाडोमा यो भाइरस अझै बढी सक्रिय हुने, अन्य रोगले पनि गाँज्ने भएकोले यसको दर उच्च भएर जान सक्छ।

वृद्ध, रोगीहरुलाई क्वारेन्टिन राख्न सकियो भने जोगाउन सकिन्छ। युवापुस्ता सिकिस्त भएकाहरुको उपचार समयमा गर्न सकियो। युवापुस्ता पनि संक्रमित, वृद्ध, रोगीहरु एकैपटक संक्रमित भएभने हामीले नसोचेको अवस्था आउँछ।

काठमाडौंको जनसंख्या कति होला, त्यसमा काम गर्ने युवा पुस्ता कति होला, अनि त्यो युवाले घरमा वृद्ध र दीर्घ रोगीहरुलाई संक्रमण सारिदियो भने अझ त्यसमा लक्षण पनि भएको सिकिस्त बिरामी छन् भने हाम्रा अस्पतालहरुले थेग्न सक्छन्? निकै कठिन छ।

दुईवटा तरिकाले कोरोनालाई जित्न सकिन्छ– पहिलो रोकथाम, रोकथाम र रोकथाम। कसरी यो भाइरसलाई फैलनबाट रोक्न सकिन्छ, यसैमा विजय प्राप्त गर्नुपर्छ। होइन त्यसो गर्न सकिदैँन भने लकडाउन वा निषेधाज्ञालाई व्यवस्थित पार्दै लैजाने हो।

नियन्त्रण तथा लकडाउन दुवै नगरी संक्रमितको उपचार मात्र गर्दै जाने रणनीति लिने हो भने केही न केही मानिसको ज्यान जान्छ।

यो ६/७ महिनामा हामीले कुन काम बलियोगरी गर्‍यौँ, त्यसलाई अनुशरण गरौं र हाम्रा कहाँनेर त्रुटि भए, त्यसलाई सुधारौँ। लकडाउन गर्दा पनि पास लिएर मानिस छिरे, सीमामा चोरबाटोबाट प्रवेश गरे। बसमा लुकेर आए। त्यसलाई व्यवस्थापन गरेर योजना बनाए कोरोनालाई जित्न असहज छैन।

हामीले पहिलो, दोस्रो संक्रमित भेटिएपछि लकडाउन गर्‍यौं। अनि त्यहीबेला हाम्रा महत्वपूर्ण स्रोतहरु पनि सक्यौँ। राहत, सामाग्री, खाद्यान्न वितरण गर्‍यौं, भएको पैसा खर्च गर्‍यौँ। जबकि यी स्रोतहरु चाहिने समय अब हो। हामीले रोकथाम पनि गर्नुपर्नेछ र आर्थिक उपार्जन गर्न नसक्ने नेपालीलाई खाना पनि खुवाउनु छ।

अहिले अर्थतन्त्र भर्सेस कोरोनाको विषय हो। केही मुलुकले अर्थतन्त्रलाई प्राथमिकता दिएका छन्। तर, त्यसबाट धेरैको ज्यान पनि गएको छ।

राजधानीमै कति, कुन हालतमा संक्रमित छन् हामीलाई थाहा छैन। रोकथामलाई मूल मन्त्र मानेर वृद्ध, रोगी तथा अशक्तलाई बचाएर अर्थतन्त्रलाई पनि धान्ने गरी व्यवस्थापन गर्नुपर्ने अहिलेको आवश्यकता हो।

कोरोनालाई सरकारले मात्र सक्ने भए धेरै देशहरुले नियन्त्रणमा लिन्थे होला तर सकेनन्। यो अनुशासनले जित्ने रोग हो। चीन, ताइवान, हङकङ, सिङ्गापुर, अस्ट्रेलिया लगायतका देशले अनुशासनले जितेका हुन्। हामी पनि त्यसैगरी जित्नुपर्छ।

संक्रमण हराएर जाने तत्काल स्थिति छैन। अब हामीले अर्थतन्त्रलाई प्राथमिकता दिएर लकडाउन वा निषेधाज्ञा केही पनि नलगाई छाड्छौं कि वा अरु व्यवस्थापन गर्दै लकडाउन पनि लगाएर अघि बढ्छौं, ती कुराले संक्रमण बढ्छ कि घट्छ, कति मानिस संक्रमित हुन्छन्, कति जटिलता उत्पन्न हुन्छ भन्ने निर्धारण गर्छ।

राजधानीमा कोरोना नियन्त्रणका क्रममा केही सकारात्मक पक्ष पनि देखिएका छन्। मानिसहरुले मास्क लगाएका छन्। दूरी कायम गरेका छन्। स्यानिटाइजरको प्रयोग पनि गरिरहेका छन्। त्यसले संक्रमणलाई ह्वात्तै फैलनबाट बचाउँछ। तर, सानो त्रुटि, भीडभाड गर्दा मानिस संक्रमित भए।

अब युवा पुस्ता लक्षणसहित संक्रमित हुने क्रम बढ्न थालेको छ। यसले वृद्ध, दीर्घरोगीहरुलाई सिकिस्त पार्ने सम्भावना पनि बढाउँछ। यहाँ कुन रणनीति सरकारले अपनाउँछ भन्ने मूल चासो हो।

युवा पुस्ताले संक्रमण सबैभन्दा छिटो सार्छ। घरको प्रमुख आम्दानीको स्रोत नै युवा हो। प्रायः युवामा लक्षण पनि देखिँदैन। भीडमा जाने, समूहमा बस्ने र घरमा वृद्ध आमा, बुबा, हजुरबा, हजुरआमालाई संक्रमण सार्ने यही पुस्ता हो। त्यसैले युवाहरुलाई संक्रमित हुन नदिन अब जोडबल लगाउनुपर्छ।

त्यस्तै, अनावश्यक रुपमा दीर्घरोगी अस्पताल जाँदै नजाऊँ। केही गाह्रो भयो भने फोनबाट डाक्टरसँग परामर्श गरौं तर, अस्पताल गएर भीडमा नपरौं। दीर्घरोगी र वृद्धहरुलाई जोगाउन सक्यौं भने कोरोनाबाट हुने मृत्युदर पनि ह्वात्तै घट्छ।

अहिले भारतबाट आएका श्रमिक, कालिगढको व्यवस्थापन नहुँदा पनि संक्रमण फैलिरहेको छ। अब त्यस्ता व्यक्तिलाई कसरी व्यवस्थापनमा लिने भन्ने रणनीति तयार गर्नुपर्‍यो।

अर्थतन्त्र पनि धान्नु छ, राष्ट्रको विकास पनि गर्नुछ, नेपालीलाई खाना पनि खान दिनु छ भने उद्योग, कलकारखाना चलाउन आवश्यक पर्ने कामदार, मजदुर ल्याउँदा १४ दिन उनीहरुलाई राख्ने एकान्तबासको व्यवस्था गर्न ध्यान दिनुपर्‍यो।

स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्दै अस्पतालको व्यवस्थापन गर्नुपर्छ। संक्रमितहरुलाई राख्ने अस्पतालमा सबै सेवा र सुविधा बढाउनुपर्छ। कोरोनासँग लड्ने स्वास्थ्यकर्मी जति छन्, तिनीहरुको मनोबल बढाउँदै उपचारका लागि तालिम दिएर काम गर्नुपर्ने देखिन्छ।

उपचारका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्न ढिलाइ गर्नु हुँदैन। विशेष गरेर औषधिको व्यवस्थापन र वितरणमा चनाखो बन्नुपर्छ।

कोरोनामा हुने लक्षण जितेपछि मात्र निको भएको मानिन्छ। जस्तो कोरोनाको एउटा लक्षण निमोनिया हो, त्यो निको हुनुपर्छ। त्यो निको हुन समय लाग्न सक्छ। तर, जुनसुकै लक्षण भएपनि ८ दिनपछि त्यसले सार्ने सम्भावना अलि कम हुँदै जाने देखिन्छ।

त्यसैले अबको रणनीति तय गर्दा खुला छोड्दा कति बढ्यो, लकडाउन वा निषेधाज्ञा गरेपछि कति संख्या बढ्यो वा घट्यो भन्ने तथ्यांक तुलना गर्नुपर्छ। त्यसपछि मात्र योजना बनाउनुपर्छ।


प्रतिक्रिया दिनुहोस्