काठमाडाै । अमेरिकी सरकारले प्रदान गर्ने प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारका लागि नेपाली किशोरी मुस्कान खातुन चयन भएकी छन्। नेपालस्थित अमेरिकी दूतावासले जनाए अनुसार अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने विमेन अफ करेज (साहसी महिला) नामक पुरस्कारका लागि उनलाई चयन गरिएको छ ।
नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीले मुस्कानले सो पुरस्कार प्राप्त गरेको खबर घोषणा गर्न पाउँदा आफू अत्यन्त उत्साहित भएको बताएका छन्। राजदूत बेरीले भनेका छन् , ‘नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल विमेन अफ करेज अवार्ड पाउने खबर घोषणा गर्दै म अत्यन्तै उत्साहित भएको छु,’ ।
मुस्कानले एसिड (तेजाब) आक्रमणलाई रोक्नका लागि उनले गरेका कामहरुका लागि सो पुरस्कार दिइएको बेरीले जनाएका छन्। ‘यो पुरस्कार पाउने उनी पहिलो नेपाली भएकी छन् र सो पुरस्कारका लागि चयन हुने अहिलेसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति पनि,’ राजदूत बेरीले भनेका छन्।
आफै एसिड आक्रमणमा परी गम्भीर घाइते भएकी मुस्कान निको भएपछि त्यस्ता आक्रमण रोक्न कानूनी व्यवस्था गर्न र सामाजिक अभियानमा क्रियाशील छन्।