काठमाडौं / कोरोना भाइरस विरुद्धको खोप मंगलबार एकै दिन २ लाख ९ हजार जनाभन्दा बढी ज्येष्ठ नागरिकले लगाएका छन्। मंगलबार एकै दिन २ लाख ९ हजार १२७ जनाले कोरोना विरुद्धको खोप लगाएकाे स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी गराएका हुन्।
डा गौतमका अनुसार यो तथ्यांक मंगलबार साँझ ७ बजेसम्मको मात्र हो। देशभर रहेका ३ हजार ३३२ वटा खोप केन्द्रमध्ये कतिपय खोप केन्द्रबाट भने मंगलबारको खोप लगाउनेको तथ्यांक आउने क्रम जारी रहेको उनले जानकारी दिए।
डा गौतमले पहिलो दिन आइतबार २ लाख १८ हजार ९ सय ६२ जना र दोस्रो दिन सोमबार २ लाख ४१ हजार ५१० जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि जानकारी दिए।
बाल स्वास्थ्य तथा खोप शाखाको यो तथ्यांकलाई हेर्दा ६ लाख ६९ हजार ५९९ जना ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप लगाइसकेका छन्। डा गौतमका अनुसार दोस्रो प्रथामिकतामा परेका ५५ वर्ष माथिका १७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ।
सोही लक्ष्यका साथ आइतबारदेखि १० दिनसम्म ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालिएको हो।
यस्तै चैत ४ गतेदेखि ५५ वर्ष माथिकलाई खोप दिने जनाइएको छ।