काठमाडौं । कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुन-चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
साताको अन्तिम दिन प्रतितोला सुन ६ सय र चाँदी १५ रुपैयाँले ओरालो लागेको हो । विहीबारको तुलनामा शुक्रबार सुन-चाँदीको मूल्यमा उक्त गिरावट आएको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ ।
साताको पहिलो दिन आइतबार सुन प्रतितोला ८६ हजार १ सयमा कारोबार भएको थियो । त्यसैगरि सोमबार ८६ हजार २ सय, मंगलबार ८५ हजार ६ सय, बुधबार ८६ हजार २ सय र बिहीबार ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको हो ।
साताको अन्तिम दिनसम्म आइपुग्दा सुन तोलामा ६ सय रुपैयाँले ओरालो लागेर ८६ हजार २ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
साथै कारोबारको पहिलो दिन आइतबार चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरि सोमबार १२ सय ६५, मंगलबार १२ सय ५५, बुधबार १२ सय ७० र बिहीबार १२ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले उल्लेख गरेको छ ।
कारोबारको अन्तिम दिनसम्म आइपुग्दा चाँदी १५ रुपैयाँले कमी आएर १२ सय ७० मा कारोबार भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार दिउँसोसम्म सुन प्रति औंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको थियो ।