राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालको आईसीयूमा भेटिए

  • 1
    Share

काठमाडौँ / सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही  कोभिड-१९ उपचार गर्ने अस्पतालको आईसीयूमा भेटिएका छन् । उनी पोखरास्थित चरक अस्पतालको कोभिड वार्डमा भेटिएका हुन्। उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका हुन् ।

निजी प्रयोगशाला लाइफ केयर डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरमा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका अनुसार आजै अस्पताल भर्ना भएका हुन्। तर मंगलबार सबै सांसदसँग गरिएको सरकारी परीक्षणमा उनको रिपोर्ट भने नेगेटिभ आएको थियो।

शाहीलाई अक्सिजन लगाएर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालकी कोभिड- १९ फोकल पर्सन मीना थापाका अनुसार शाहीलाई कोरोना भएको रिपोर्टका आधारमा उपचार भइरहेको हो । सांसद शाहीको अवस्था सामान्य रहेको उनले बताइन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा आज प्रदेशसभामा मतदानको तयारी थियो। उनी सम्पर्कविहीन भएपछि जनमोर्चाले बैठक रोक्न माग गरेपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाले मुख्यमन्त्री गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक शुरु हुनु अघि जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गरेर निवेदन दिएकी थिइन् ।


  • 1
    Share
प्रतिक्रिया दिनुहोस्