नेकपा माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । म‌गलबार बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई अवैधानिकको संज्ञा दिएको छ । ‘लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाएको घोषणा गरिएको छ, त्यो पूर्ण रूपले अवैधानिक छ,’ बैठकका निर्णय जानकारी गराउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले लुम्बिनीको कथित सरकारलाई अवैधानिक घोषणा गर्दैछौं । विपक्षी दलहरूले चालेको कदमको स्वागत गर्दछौं ।’

गण्डकी प्रदेश र सदूरपश्चिम प्रदेश प्रमुखलाई हटाउने कामलाई माओवादीले स्वेच्छाचारी भनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिनुको पछाडि राम्रो नियत नभएको निष्कर्ष बैठकले निकाले श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस्