माओवादी केन्द्रको पदाधिकारी टुंगो लगाउन तय २५ गतेको बैठक स्थगित

  • 7
    Shares

काठमाडौ । नेकपा माओवादी केन्द्रको पदाधिकारी टुंगो लगाउनका लागि बस्ने भनिएको यहि २५ गतेको बैठक स्थगित भएको छ । हालै काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनमा सहभागी १५ नेता बिरामी परेकाले आगामी २५ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगन गरिएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बिरामीमध्ये ९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यालयका लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्यायसहित केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि बिहीबारदेखि नै अध्यक्ष प्रचण्डले भेटघाट बन्द गर्नुभएको छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा निर्वाचनपछि मात्र बस्ने सम्भावना रहेको मुख्यसचिव ढकालको भनाई छ ।

यही पुस ११–१८ मा सम्पन्न आठौं महाधिवेशनले माओवादी केन्द्रको २ सय ३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । त्यसपछि पुस २० गते बसेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीको अध्यक्ष पदमा पुष्पकमल दाहाललाई नै निर्विरोध चयन गरेको थियो ।

वरिष्ठ उपाध्यक्षसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन गर्न बाँकी छ । यसबारे निर्णय गर्न यही पुस २५ गते केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय भएको थियो ।


  • 7
    Shares
प्रतिक्रिया दिनुहोस्