चौथो संस्करणको मुन्दुम ट्रेल रेस आयोजना गरिँदै, रेसको ५० प्रतिशत तयारी पुरा

  • 49
    Shares

नवीन मास्के,
०३ वैशाख, भोजपुर ।
सरकारकाे सूचिमा रहेकाे एक सय पर्यटन गन्तब्य मध्ये भोजपुरको मुन्दुम पदमार्ग पनि एक हो । उक्त पद मार्गमा आगामी वैशाख १० गते “चौथो मुन्दुम ट्रेल रेस” आयोजना हुने भएको छ ।

ट्रेल रेसको तयारी भइरहेको आयोजक रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीका अध्यक्ष पावीहाङ्ग राईले बताए ।  ५० प्रतिशत तयारी पुरा भएको अध्यक्ष राईले भनाई छ ।

अध्यक्ष राईले भने, ” कोभिड १९ सङ्क्रमणका कारण यसअघि ट्रेल सञ्चालन गराउन नसकिएको हो। टेम्केमैयुङ गाउँपालिकाको सहयोगमा  गरिने ट्रेल रेसले मुन्दुम पदमार्गलाई चिनाउन टेवा पुर्‍याउने छ ।”

ट्रेल रेसको चौथो संस्करणका रुपमा हुने प्रतियोगितामा दुई सय जना प्रतियिगीहरुको सहभागिता रहने आंकलन गरिएको छ । रेसका बिजेताले ५० हजार, दोस्रो ४० हजार, तेस्रो ३० हजार, चौथोले २० हजार र पाँचौ हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै रेसमा ४० वर्ष माथिका सहभागी तर्फका शीर्ष ३ जनालाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएका छन् । 

आयोजकका अनुसार ४५ कि.मी.लामो दुरीको दौड भोजपुरको बागखोर (२२०० मिटर) बाट सुरू भएर ३१०० मिटरको टेम्केडाँडा हुँदै खोटाङ्गको तावाभञ्ज्याङ (१८०० मिटर) मा पुगेर समापन हुनेछ ।

पछिल्लो समय विश्व चर्चित अल्ट्रा धाविका मिरा राईले भोजपुरको नाम विश्वमा चिनाउन सफल भएकि थिइन् । अल्ट्रा धाविका राईको सम्मानमा रिमाचुङ एजुकेसन एण्ड स्पोर्टस एकेडेमीले खेलाडीको सम्मान तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ गत २०७४ सालदेखी भोजपुर-मैयुङ्ग सम्मको “भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस” को सुरुवात गरेर संचालन गर्दै आएको हो । 

यस्ता प्रतियोगिताहरुमा विदेशी धावकहरुको चासो र सहभागिता अत्याधिक रहने भएको हुँदा यस्तो प्रतियोगिताले स्वदेशी तथा विदेशी पर्यटकसमेत जिल्लामा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाई रहेको छ । 

एकेडेमीले प्रथम मैयुङ्ग हाँस पोखरी २०७४ को अवसर पारेर दावाँली मिलन क्लबसँगको सहकार्यमा स्थानीय आयोजकको हैसियतमा २०७४ बैशाख १ गते पहिलो भोजपुर मैयूङ्ग स्काई दौड प्रतियोगिता गरेको थियो ।

यसैगरी  राष्ट्रिय खेलकुद परिषद् र जिल्ला खेलकुद बिकास समितिको सहकार्यमा २०७५ जेठ २५ गते दोस्रो भोजपुर मुन्दुम अल्ट्रा ट्रेल रेस र टेम्केमैयुङ्ग गाउँपालिकासँगको सहकार्यमा २०७६ बैशाख १४ गते तेस्रो टेम्केमैयुङ्ग मुन्दुम ट्रेल रेस गरिसकेकाे छ ।


  • 49
    Shares
प्रतिक्रिया दिनुहोस्