रातोपर्खाल,
असार १५,भोजपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भोजपुरका सांसद सुदन किराँतीले किसानलाई समयमै मल उपलब्ध गराउन नसकिएको भन्दै माफी मागेका छन् । भोजपुरको अरुण गाउँपालिका एक चम्पेको सिस्नेरीमा आयोजित धान दिवस कार्यक्रममा किसानसँग मल उपलब्ध गराउन नसकेकोमा माफी मागेका हुन् ।

‘यो वर्षाको समयमा मानो रोपेर मुरी फलाउने समय हो । यतिबेला हामीले किसानलाई समयमै मल उपलब्ध गराउन सकेनौँ’ किरातीले भने, ‘मैले मल उपलब्ध गराउन नसकेकोमा खेतमै पुगेर किसानसँग माफी मागे । क्षमा दिनुस् भनेर आग्रह गरे ।’ आफूले आफ्नो तर्फबाट मल ल्याउन नसकेपछि नैतिकताका आधारमा जिल्लाका किसानसँग माफी मागेको किरातीले बताए । सोही धान दिवस कार्यक्रममा किरातीले ६ जना जेष्ठ महिलालाई चोलो, पछ्यौरी र छाता दिएका थिए भने ६ जना जेष्ठ पुरुषलाई दौरा सुरुवाल र टोपी दिएका थिए ।